प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
आश्विन २०७९
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्देशन सम्बोधन
२०७९-०६-२८

प्रहरी  महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका कार्यालय प्रमुखहरूलाई शुक्रबार विहान निर्देशन दिनुका साथै परिचालन कक्ष र CCTV मनिटरिङ कक्षको अवलोकन गर्नु भएको छ ।निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ-आफ्नो इलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुत बनाउन निर्देशन दिनु भयो  । निर्वाचन संवेदनशिल भएको स्मरण गराउदै सुरक्षा योजना अनुसार Search Operation बढाई अपराधिक घटना रोकथाम तथा न्यूनीकरण गर्नको लागी गुण्डा गर्दी, घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लवहरू लगाएतमा हुन सक्ने ग्याङफाइटहरूलाई पुर्ण रूपमा नियन्त्रण गर्न निर्देशन दिदै काठमाडौं उपत्यकाको प्रहरी देशकै Role model को रुपमा रहेकाले प्रहरीको आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सवै सेवाग्राहीलाई समान व्यवहार गर्न पनि निर्देशन दिनु भयो । सिंहले गुण्डा गर्दी,ग्याङ फाइटहरू तथा विभिन्न अपराधिक गतिविधिहरू प्रति कठोर भई कानूनी दायरामा ल्याउनु भन्दै संगठन र बिभागीय नीति बमोजिम कानून सम्वत ढङ्गबाट सम्पादित प्रहरी कारवाहीको जिम्मेवारी आफुले लिने भन्दै निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत निर्देशन दिनु भयो । आर्थिक प्रलोभनमा परी नाजायज कार्य गर्ने कुनै पनि प्रहरी कर्मचारीहरूलाई क्षम्य नगरी कठोर कारवाही गर्ने समेत बताउनु भयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक रबिन्द्र बहादुर धानुकले समसामयिक विषयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उपत्यकाका कार्यालय प्रमुखहरूलाई महत्वपुर्ण निर्देशन दिनु भएकोमा धन्यवाद दिदै निर्देशनलाई अक्षरंस पालना गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नु भयो ।  निर्वाचनलाई सफल बनाउन उपत्यका निर्वाचन सेल र जिल्ला निर्वाचन सेलले कार्य गरीरहेको जानकारी दिनुका साथै आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसामा शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न प्रहरी महानिरीक्षकबाट समय समयमा भएका निर्देशन पालना गरिरहेको र   मातहत समेतमा आवश्यक निर्देशन दिइने  गरेको र सोही अनुसार कार्य गरिरहको बताउनु भयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक , प्रहरी नायव महानिरीक्षक, प्रहरी बरिष्ठ उपरिक्षक तथा  सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९” अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन सम्पन्न
२०७९-०६-०५

नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९ को पुर्व निर्धारित कार्यक्रम अनुसार बुधबार विहान काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । “कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९” केन्द्रीय मुल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदी सहितको मुल्याङकन टोलीले कार्यालयको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।  सो क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयको भौतिक पुर्वाधारहरूको स्तर , उपलब्ध स्रोत साधनहरूको व्यवस्थापन, प्रहरी कार्य ,मानवस्रोत व्यवस्थापन, परिचालन कक्ष, लगाएत विभिन्न शाखाहरूको काम कारवाहीको निरीक्षण गर्नु का साथै उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । सोही अबसरमा काठमाडौ उपत्यका प्रहरी कार्यालयको काम कारवाहीको बारेमा प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले प्रस्तुतीकरण गर्नु भएको थियो ।  

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न
२०७९-०६-०२

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ ।            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त कार्यक्रमको शुरुमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारीअन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट शुभारम्भ भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो ।            गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन तथा गमलामा जल सिंचन गरी उद्‍घाटन भएको उक्त कार्यक्रममा समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको एवम् नेपाल प्रहरीले जन धनको रक्षा, शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक बलिदानीपूर्ण कार्य गरिरहेको बताउनुभयो ।            राष्ट्रका कर्णधार युवा भाइबहिनीहरूको सहभागिताले प्रतिबद्धता र सचेतना थपेको चर्चा गर्दै गृहमन्त्री खाणले भन्नुभयो, “यो कार्यक्रमको माध्यमबाट देशभरिकै आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ, जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ, आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ ।” सहभागी युवाहरूले समाजमा सचेतना जगाउन तथा नेपालमा आत्महत्याको घटनालाई न्यूनीकरण गर्ने र रोक्ने प्रतिवद्धता गर्न उहाँले आग्रह गर्नुभयो । नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनीकिकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिवद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्चास उहाँले व्यक्त गर्नुभयो ।            कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो । आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो ।            उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आत्महत्याको मुख्य कारकको रूपमा डिप्रेसन पनि भएको उल्लेख गर्दै आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।            कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप देशभर आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्य एवम् नेपाल प्रहरीको एकल प्रयासमा आत्महत्या रोकथाममा उल्लेखनीय सफलता हासिल गर्न नसकिने भएकोले सरोकारवाला निकायहरूको बृहत् सहभागितामा यो कार्यक्रम संचालन गरिएको बताउनुभयो  ।            आत्महत्या पछाडि व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू हुने सक्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले आत्महत्या रोकथामलाई सदैव प्राथमिकतामा राख्दै आएको बताउनुभयो । आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।            कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, गृहमन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै आत्महत्या रोकथाम तथा न्यूनीकरणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।              काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक प्रहरी उपरीक्षक डा. आशिस दत्तले आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।            कार्यक्रममा सामुदायिक सेवा केन्द्रहरूको तर्फबाट सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंह, विद्यालयकोतर्फबाट अरनिको ईन्टरनेश्नल सेकेण्डरी स्कुल एण्ड कलेज ताल्छिखेलका किरण जंग बिष्टले आत्महत्या न्यूनीकरणमा सचेतना कार्यक्रमको महत्व बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।            कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।              विश्वभर बढ्दो आत्महत्याको दरलाई न्यूनीकरण गर्न सर्वपक्षीय सहभागितामा आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले सन् २०२१ देखि सन् २०२३ सम्मको लागि तय गरिएको विश्व आत्महत्या रोकथाम दिवस सम्बन्धी अन्तर्राष्ट्रिय नारा ‘कर्म मार्फत आशाको सृजना गरौं’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।